कुर्सेओङ, अप्रिल ५ – कुर्सेओङ विधानसभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिरहेका मोहन शर्माले आज हिल कार्ट रोडस्थित होटल मोहिनीमा सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्नो दृष्टिकोण र राजनीतिक अडान सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनका क्रममा शर्माले आफूले भोट किन्ने जस्तो गतिविधिमा संलग्न नहुने र कुनै पनि राजनीतिक दलको एजेन्डासँग नजोडिने स्पष्ट पारे। “राजनीति सेवा गर्ने माध्यम हुनुपर्छ, व्यापार होइन,” उनले भने।
उनले अघिल्ला निर्वाचित प्रतिनिधिहरूले बेरोजगारीको समस्या समाधान गर्न पर्याप्त प्रयास नगरेको आरोप लगाउँदै युवाहरूको रोजगारी अहिलेको सबैभन्दा ठूलो मुद्दा रहेको बताए। शर्माले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र युवाहरूको आर्थिक अवस्था सुदृढ बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे।
“युवाहरूलाई कामका लागि विदेश जान बाध्य बनाउनु हुँदैन। यदि हामीले सही नीतिहरू इमानदारीपूर्वक लागू गर्यौं भने बेरोजगारीलाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ,” उनले थपे।
शर्माले चुनावको परिणाम जे भए पनि जनताको सेवा निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरे। “म राजनीतिभन्दा सामाजिक सेवामा बढी विश्वास गर्छु,” उनले भने।
अन्त्यमा उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनको आवश्यकता औंल्याउँदै भोट किन्ने जस्ता गतिविधिहरू अन्त्य गर्न सबै पक्षलाई आह्वान गरे, जसले स्वच्छ र पारदर्शी लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्नेछ।
